नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

नलेखिएको कथा
कथा

Monday, April 4, 2011

- विनु परमार्थी
(मित्रहरु आज मैले आफ्नो लेख नभए पनि ह्रिदय छुने कथा "नलेखिएको कथा" नारी पत्रीकाबाट लिएको छु । शायद तपाईंको पनि मन जित्ने छ । )

पशुपतिनाथ परिसरमा बढी शरण लिने हुनाले म आध्यात्मिक जस्तो देखिउँला, तर सत्य के हो भने त्यहाँ जान पकेट छामिरहनु पर्दैन । जतिबेला जसरी मन लाग्यो जान सकिन्छ । जलिरहेको लाश हेर्न सकिन्छ, बजिरहेका शंखघण्ट सुन्न सकिन्छ । बाग्मती कटेर अलि माथि पुगियो भने केही लजाएका र केही निर्लज्ज प्रेमी जोडीहरू देख्न सकिन्छ । खरानी घसेका जटाधारी बाबाहरू देख्न सकिन्छ । मौका मिले र बाबाहरूको मुड चले शिवजीको प्रसाद पनि तान्न पाइन्छ ।


मानिस सकेसम्म अप्ठ्यारो परिस्थितिबाट टाढिन चाहन्छ । यस्तो परिस्थिति कहिले समय, कहिले प्रकृति त कहिले आपनै मनबाट सिर्जना हुन्छ । सबैभन्दा कष्ट सायद आपनै मनदेखि टाढिनु हुन्छ होला । मैले पनि धेरै पटक आफैंबाट टाढिने वा भाग्ने प्रयास गरेको छु । कहिले डिस्को, कहिले डान्स वार, अलि धेरै लोकल सस्ता भट्टीहरू र सबैभन्दा बढी पशुपतिनाथ मन्दिर परिसरमा आफैंलाई भुलाउने प्रयास गरेको छु ।  धेरै चीज छन् पशुपतिनाथ परिसरमा मलाई अलमल्याउन सक्ने ।

एक साँझ आफैले काम गर्ने फाइनान्स कम्पनीले किस्तामा दिएको बाइक हुइँक्याउँदै म पशुपति पुग्दा आरती हुँदै थियो । म आध्यात्मिक मान्छे होइन भनेर अघि नै भनें, तर सायद म नास्तिक पनि होइन । मैले यसो भन्नुको कारण यो आरती, यी शंखघण्टका आवाज र भगवान्को भजनले मेरो मनलाई शान्ति दिएको अनुभूति हुन्छ । थाहा छैन कुन शक्तिको प्रभाव हो यो । आफू जन्मिए-हुर्किएको वातावरण वा अरू केही, जे होस् मलाई आनन्द लागिरहेथ्यो ।

बाग्मती पुल पारी स-साना मन्दिर जस्ता ढिस्काहरू र तिनमा कँुदिएका देवी-देवताका मूर्ति अगाडिपट्ट िम पशुपतिनाथ मन्दिरतर्फ फर्केर बसिरहेको थिएँ । अचानक एउटा लाश लिएर केही मानिस आए । आपनो विधिअनुसार अन्त्येष्टि  गर्न थाले । उठेर जाऊँ जस्तो लाग्यो तर किन-किन आँखाले त्यहाँबाट उठ्नै चाहेन । मैले यही ठाउँबाट लाश जलाएको त धेरैपटक देखेको थिएँ तर यसरी सम्पूर्ण अन्त्येष्टि भने कहिल्यै देखेको थिइन । सानो आगो मुखमा बालेको एकैछिनमा सारा चिता दनदन दन्किन थाल्यो । के राख्छन् कुन्नि यस्तो ज्वलनशील ? अचानक एउटी बाह्र-पन्ध्र वर्षकी युवती 'मामु, मेरी मामु, नजानू न मामु' भन्दै डाँको छोडेर रुन थालिन् । भावना भन्ने चीज पनि कस्तो अचम्मको ? म पनि उनको भावनामा समाहित हुन पुगंेछु । खोइ किन होे मैले आपनी आमालाई सम्झन पुगंे । आमा नभएको घरमा हुर्कन लागेकी ती कलिली युवतीलाई सम्भिएँ, बिचरी कसरी बस्दी हुन् आमाबिना, मेरो आँखाले त्यो जलिरहेको चिता धमिलो देख्यो, सायद म रुँदै थिएँ ।

'मृत्युलाई यति भयानक रूपमा नलेऊ बाबु, यो त हामी जन्मदैमा तय थियो कि हामी मर्नेछौं ।' एउटा चिसो हातले मेरो केश मुसारेको अनुभव गरें-मैले । आँखा पुछेर हेर्दा एउटी बुढी महिला मलाई मायालु नजरले हेर्दै थिइन् ।

पुरानो सुतीको रातो साडी र ब्लाउज लगाएकी, सेतो ऊनीको सल ओढेकी उस्तै पुरानो तर निकै सफा । हिउँझैं केश, गोरो अनुहारमा अझ पनि कस्तो चमक ? ठूलो निधारको रातो गोलो टीकाले सारा शृंगारको काम गरेको । म उनको व्यक्तित्व नियाल्दै थिएँ, फेरि बोलिन् उनी-'निकै रात हुन आँट्यो घर जाँँदैनौ ? कहाँसम्म पुग्नुपर्ने हो, घरका मान्छे आत्तिएलान् ?' उनको आत्मीयता अचम्मको थियो । भित्रैदेखि मुस्कान फुटेर आयो मेरो ओठमा । 'अनि तपाईं घर जानुपर्दैन बूढी मान्छे' मैले उनीसँग निकै घनिष्टता देखाउँदै भनें ।

'मेरो घर नजिकै छ बाबु' मीठो गरी भनिन् उनले । 'तपाईंको नाम के हो ?' मुखबाट निस्किसकेपछि अनुभूति भयो, मैले बेमौसमको प्रश्न गरें सायद । आपनो ओजिलो व्यक्तित्व कत्ति पनि नघटाई उनी उसैगरी बोलिन्-'हाम्रो पालामा नाम त्यति ठूलो कुरा थिएन बाबु । त्यसमाथि उमेर बढ्दै जाँदा नामको स्थान विभिन्न नाताहरूले लिँदारहेछन् । दिदी, भाउजू, बुहारी, आमा, बज्यै यस्तै-यस्तै ।'

यसपटक चाहिँ अलिक बढी नै हाँसेर उनले भनिन्-'तिमी मलाई आमा भन न, नाम किन चाहियो ?' मलाई अलि-अलि लाज पनि लाग्यो तर त्यो भन्दा बढी आपनोपन महसुस भयो ।

अब मलाई उनीसँग बोल्न रमाइलो लाग्न थाल्यो । यस्ता धेरै बूढाबूढीलाई परैबाट छिःछि गर्दै हिँड्ने मेरै पुस्ता हो । उनीहरूलाई ज्ञान र अनुभवमा धेरै कुरा थाहा छ भन्ने सत्यलाई नमान्ने मेरै उमेर हो तर पनि यी बूढीले मलाई यसरी आकषिर्त गरिन्, म खुलेर बोल्ने भएँ ।

'तपाईंलाई यी नाताले त सबैले बोलाए होलान्, तर कसैले तपाईंको नामले नबोलाएको कति भयो होला सम्झनुहोस् त ? त्यही भएर सोधेको मैले तपाईंको के नाम ?' आधा झूटो आधा साँचो बोलें मैले ।  हो कि होइन जस्तो गाम्भीर्यको सानो धर्सो उनको अनुहारबाट भागेको देखें मैले तर उनले हाँसेर भनिन्-'तिमीले मलाई मेरै नामले बोलाउने भए भन्छु' अब धर्मसंकटमा परें म । त्यति बूढी मान्छेलाई कसरी नामले बोलाउनु ?  'मैले नामले बोलाउने ?' आफैमा बाझिएको प्रश्न मेरो ।

'तपाईंलाई कसैले नामैले नबोलाएको कति भयो होला भनेका होइनौ ?' अघि भाग्दै गरेको गाम्भीर्यको सानो धर्सो उनको अनुहारमा अल्मलिएजस्तो लाग्यो । केहीबेर रोकिएर फेरि उनले भनिन्-'हो त, आपनो नाम कसैले नकाढेरै वर्षौं बितेछ । आज तिमीले सम्झाइ दियौ, मेरो पनि नाम छ । आपनै नाम सुन्ने रहर जागेर भनेकी, मलाई कुनै साइनोले होइन, नामैले बोलाऊ ।'    उनको शब्दले म नतमस्तक भएँ । मलाई लाग्यो, साइनो आखिर श्रद्घाका लागि न हो । श्रद्घा त म उनलाई गर्छु नै । मैले नामैले बोलाउँदा उनी अझ खुसी हुन्छिन् भने यसमा नराम्रो के नै छ र ? मैले उनलाई नामैले बोलाउने भएँ । उनले केही सम्झिएझैं गरी आपनो नाम 'गोमा' बताइन् ।

केही बेरको कुराकानीपछि मैले भनें, 'हिँड्नुहोस् म तपाईंलाई घरसम्म पुर्‍याइदिन्छु ।' 'मलाई नामले बोलाउने भएपछि तपाईं भनिरहन पाइन्छ, तिमी भन अनि बल्ल जाउँला घर' अब चाहिँ अति भो । मैले लुकेर जे-जस्ता बदमासी गरे पनि आफूभन्दा ठूलालाई कहिल्यै 'तिमी' भनेको थिइन् र त्यस्तो कल्पना पनि गरेको थिइन तर उनको रवाफका अगाडि मेरो केही लागेन । मैले लाज पचाएर भनें 'गोमा, हिँड घर जाऊँ ।'

बाग्मती पुल तरेर पार्किङनिर आएपछि मैले हेलमेट लगाउँदै भनें 'बस्नुहोस्' 'फेरि बस्नुहोस् ?' बूढी त छोड्नेवाला थिइनन् । 'ल ल बस म पुर्‍याइदिन्छु' हरूवा जवाफ मेरो । जितको हासो हाँस्दै उनले भनिन्, 'आऊ मेरो घर जानलाई तिम्रो यो भटभटे चाहिँदैन । नजिकै छ मेरो घर ।'

हेलमेट बाइकमै छोडेर म उनलाई पछ्याउन थालें । अलिकति हिँडेपछि उनी एउटा ठूलो घरतिर लागिन् । त्यो भवन पशुपतिनाथ परिसरभित्रकै थियो । अलि अगाडि बढेपछि वृद्धैवृद्धाको भीड देखियो । अनि मात्र मैले थाहा पाएँ, त्यो वृद्धाश्रम रहेछ । पशुपतिनाथ आउन थालेको त धेरै भैसक्यो, तर मैले कहिल्यै त्यहाँँको वृद्धाश्रममा ध्यान पुर्‍याइन । हुन पनि भर्खर बीस र अरू दुई तीन वर्ष मात्रै काटेको अल्लारे म । कलेजको बाहिर बसेर चिया पिउँदै, आउने-जानेलाई नजर लगाउँदै र ताल परे जिस्क्याउँदै बस्ने जवान केटो । कसरी ती असक्त रोगी र बेसहारा वृद्धवृद्धाका बारेमा सोच्न भ्याउँथंे ?

वृद्धाश्रममा प्रवेश गरेपछि म खिन्न भएँ, उकुसमुकुस भएजस्तो लाग्यो । जताततै बूढाबूढी मात्रै । कोही सुतिरहेका, कोही भजन गाइरहेका, कोही भाँडा माझ्दै, कोही उठ्न नसक्ने, कोही हेर्न नसक्ने, कोही बोल्न नसक्ने अनि म अत्तालिएँ । उनले 'आऊ' भन्दै मलाई एउटा कोठामा पुर्‍याइन् । उनी बोलिरहिन् उस्तै हँसिलो भावमा । तर म अलि कमै बोलंे, खोइ कुन भावले मलाई दुःखी बनाइरह्यो । मेरो प्रश्नमा उनले यत्ति भनिन्, 'मेरा कोही छैनन् ।'

म त्यहाँ खुसी थिइन, तर भाग्न पनि मन लागेन । धेरै बेरपछि उनले हप्काएझैं भनिन्-'घर जाऊ अब, धेरै राति भयो । दिन आपनो रात अर्काको भन्छन् ।'  मलाई के थियो र ? जन्मजात स्वतन्त्रता पाएकै छु । जतिबेला जहाँ हिँडे पनि भयो । उनी जस्तै आइमाई भएको भए ? मलाई अत्यास लाग्यो, त्यता सोच्नै छोडिदिएँ । म निस्किएपछि बाहिरसम्म छोड्न आइन् र चिच्याइन् 'आपनो साथीलाई भेट्न फेरि आउनू नि,  बिस्र्यौला नि फेरि' दिन उसैगरी बित,े रातहरू उसैगरी । मैले भागेको महसुस गरिरहें, ठाउँ-ठाउँ चहारेर । पशुपति चाहिँ बढी नै जान थालें । म उनलाई भेट्न जान्थें । पैसा भएका बेला कहिले मिठाईं, कहिले फलफूल  लिएर जान्थें र सँगै बसेर खान्थ्यांै हामी । मैले उनलाई कहिल्यै दुःखी देखिन । जहिले पनि उनी उही भावमा भेटिन्थिन् । उस्तै सुकिलो तर थोत्रो लुगामा ।

मैले आपना हजुरआमा-हजुरबुवासँग कहिल्यै घनिष्ट हुने मौका पाइन अथवा प्रयासै गरिन कि ? गाउँमा बस्ने हजुरबा- हजुरआमा र सहरिया बन्ने प्रयासमा लागेका हामीबीच खोइ कस्तो पर्दा बन्यो ? आज दोबाटोमा भेटिएकी यी बूढीले सारा वृद्धवृद्धाप्रति कहिल्यै कम नहुने श्रद्धा जगाइदिइन् र मलाई बुझाइन् हरेक नाता उत्तिकै महत्वपूर्ण हुन्छन् ।

जुनसुकै उद्देश्यले होस्, बेलाबेलामा विभिन्न मानिसले वृद्धाश्रममा गएर दानपुण्यको काम गरिरहन्छन् ।  शनिबारको दिन गैरआवासीय नेपालीहरूले पशुपति वृद्धाश्रमका वृद्धवृद्धालाई ओढ्ने-ओछ्याउने लुगा बाँडेछन् । भोजन गराएछन् र चकलेटहरू  बाँडेछन् । कुन भुलभुलैयामा रमेको म एक हप्तापछि पुग्दा ती सारा चकलेट मेरा लागि राखिदिएकी । कुनै तापले गलेर पिचिक्क भएका, कुनै जस्ताको तस्तै । मैले भावविह्वल भएर उनकै अगाडि सबै खाएँ । उनले सन्तुष्ट मुद्रामा हेरिन् मात्र । मेरी आमाले मलाई खाना ख्वाउँदा हेरेजस्तै ।

अरू केही दिन त्यसरी नै आएँ र गएँ । म भाग्न खोजिरहें । चैतको बतासझैं कहिले यता ठोक्किएँ, कहिले उता र फेरि आपनै मुहानमा फर्किरहें । फेरि उकुसमुकुस भएँ, फेरि तात्तिएँ, फेरि रापिएँ र भावनामा ठोक्किएर आँखाबाट पानीहरू बर्साइरहें । कुनै एउटा धुम्मिएको शनिबार 'बार जाऊँ कि भट्टी' हुँदाहुँदै म पशुपति पुगें । उनी सधै हुने ठाउँ जति सबै हेरें, तर कतै देखिन । मान्छे आफूले चाहेको चीज नपाउँदा कति दुःखी हुन्छ । मैले उनलाई भनेकै बेलामा नदेख्दा म पनि दुःखी भएँ । उनी कहाँ गइन् होला भन्ने सोच्दै लागें उही पशुपति मन्दिर पारीपट्ट ि।

सधैंझैं मन्दिरतर्फ फर्किएर बसें । अभ्यस्त आँखाहरू वरपर घुम्दै थिए । रातो नयाँ सल ओढेर बसिरहेकी उनलाई देखिहालें । मेरा आँखा त्यतिबेला खुसीले चम्किएको हुनुपर्छ । दौडेर त्यतै गएँ ।  उनले त्यति नयाँ लुगा लगाएको मैले कहिल्यै देखेको थिइन् । अचम्म लागे पनि सधैंझैं जिस्क्याउँदै मैले भनें-'वाह क्या राम्री देखिएकी आज रातो सलमा ।' उनीसँगै नजिकै गएर बसें । उनी फिस्स हँँसिन् मात्र वा भनौं हाँसेजस्तो गरिन् ।

'के भयो ?' भूमिका नबाँधी सोधें मैले । 'मन अतीतमा पुग्यो, उनले सायद नढाँटी भनिन् । हामी साथी हौं, तिमी मलाई भन्न सक्छ्यौ जे भए पनि' मेरो आँखा बाग्मतीको फोहोर पानीमा सिक्का खोजिरहेको फोहोरी केटो माथि थियो, फर्केर उनीतिरै आयो । पुर्लुक्क मेरो मुखमा हेरिन् र आँखालाई पशुपतिनाथ मन्दिरभित्रको शिवलिङ्ग देखुलाझैं गरी त्यतै बिसाइन् । अनि भन्न थालिन्-'म पहाडमा जिम्मुवालकी एक्ली छोरी भएर जन्मिएकी । पढ्ने चलन थिएन, बार्‍ह वर्षकी भएपछि अर्को गाउँको जिम्मुवालकै छोरासित विवाह गरिदिए । घरमा नपुग केही थिएन, घर माथि गाउँमा हुन्थ्यो, गाईगोठ भने तल बेसीमा, खोला खेतसँगै । कसैले पैसा सापट लग्यो भने ऋण नतिरुन्जेल त्यसको व्याज बापत आपनो छोरालाई गोठालो बस्न पठाइदिन्थे । त्यही गोठालाले घाँस काट्थ्यो, दूध दुहुन्थ्यो र माथि गाउँमा पुर्‍याइदिन्थ्यो । 'कुन कहानी हो यो ? साँच्ची यस्तो जमाना पनि थियो' मेरो कल्पनाभन्दा बाहिरको कुरा । उनका आँखा त्यसरी नै अडिइरहे र मुख त्यसरी नै चलिरह्यो । 'विवाहको एक वर्षपछि उनी पढ्न भनेर नेपाल गए ।' उनी भनेका श्रीमान् होलान् । नेपाल भनेको ? नेपाल भनेको काठमाडांै, मैले सुनेकी हुँ । 'उनी हुनुभन्दा नहुँदा रमाइलो लाग्ने, थुक्क केटाकेटी बुद्घ ि।' उनी हाँसेजस्तो लाग्यो ।

'के थाहा लोग्ने-स्वास्नीको अर्थ ? सकिनसकी घाँघर-चोली स्याहार्दै, गाउँ-बेसी र घर-माइत गर्दागर्दै अरू तीन-चार वर्ष त्यसै बिते ।' 'उनी बेलाबेलामा आउँथे, वर्षमा दुईपटक जस्तो । हलक्क बढेका गोरा, चौडा छाती भएका, अलिअलि दार्‍ही-जुंगा पलाउँदा उनी कस्तो राम्रो देखिएका ।' उनको अनुहारको चमक अझ बढ्यो । यिनी पनि त कम राम्री थिइन् होला र ? अहिले त बूढी यति राम्री छिन्, मैले सोचें । तर उनले आपनो विषयमा केही भनिन् । गम्भीर मुद्रामा भनिन्-अलि ठूली भएपछि बेसी खोला खेत झर्नुपर्ने । बिहानै झर्‍यो खानेकुरा पोको पारेर, गोठालाहरूलाई काम अर्‍यायो, राति मात्रै घर र्फकनुपर्ने । भर्खर सोर्‍ह वर्ष पुगेकी थिएँ, उमेरै त्यस्तो, आपना श्रीमान् बाहिर, गोठालासँग काम गरेर दिन कटाउनुपर्ने ।

'हँ' म केही झस्किएँ । सुतिरहेको कुकुरले झट्ट केही आवाज सुनेर झस्किए जसरी । उनी बोलेको हो कि होइन जसरी आवाज निकालिन्-'गोठालो बसेको त्यो गुरुङ खोइ कसरी मेरो मनमा पनि बस्न पुगेछ । सायद मानिसलाई मानिसको बानी पर्छ क्यार । नत्र पढे-लेखेको जिम्वालको छोरो श्रीमान् हुँदाहुँदै गुरुङको छोरो त्यो पनि आपनै घरको गोठालोलाई किन राजा मान्थें र मैले ?' प्रेम भनेको बानी हो भन्न खोजेकी यिनले,  कि के हो ? मैले सोचें मात्र ।

'मेरै उमेरको, दुई तीन वर्षले जेठो थियो होला । सँगै काम गर्ने, सँगै हाँस्ने, सँगै बोल्ने गर्दागर्दै ऊ मेरो धेरै नजिक आइपुग्यो । मैले चाहेको भए रोक्न सक्थंे कि ? तर चाहिन । आखिर मेरो मनलाई उसैले रत्याएको थियो ।' 'धेरै पछि उनी नेपालबाट आउँदा रातो पछ्यौरी, चप्पल, चुरा, धागो मेरा लागि कोसेली बोकेर आएका । ती सामान त मन परे, तर उनी¬¬¬? उनको ठाउँ मेरो जिन्दगीमा त्यही गोठालो मोराले लिइसकेको थियो । मन परेनन् पनि कसरी भन्नु ? उनको केही दोष थिएन । मेरो पनि के दोष थियो र ? मैले त्यही गुरुङलाई मन पराएँ, उसैसँग रमायो मेरो मन ।'

अनि के भयो ? मलाई सुन्न हतार भइरहेथ्यो । 'उनैले ल्याइदिएको पछ्यौरी ओढेर, चप्पल लगाएर, चुरा धागोमा सजिएर म गुरुङलाई भेट्न गएँ । सधैंको ठाउँमा, सधैंझैं त्यो निर्दोष अनुहार भएको गोठालो मलाई नै पर्खिरहेथ्यो । हामी प्रेममा लीन थियौं, मेरो पिछा गर्दै आएका उनले हामीलाई सँगै फेला पारे । बिचरा, उनलाई कति दुःख लाग्यो होला ? तर म पनि त मायामा बाध्य थिएँ ।'  'कतिसम्मका गाई उनी, मलाई त्यसरी गोठालोसँग भेटेर पनि 'कसैलाई केही नभन, यसलाई निकालिदिन्छु र तँलाई नेपाल लिएर जान्छु भनेका ।' तर म त त्यही गोठालोको भैसकेकी थिएँ । उनलाई पनि त धोका हो नि, म माया अर्कैलाई गर्थें । उनकी स्वास्नी बनेर कसरी बस्नु ? मेरो आत्माले मानेन ।' 'म अब तपाईंसँग जान्न, मलाई माफ गर्नुहोस् भनेर उनलाई फर्काइदिएँ र हिंडेँ त्यही गुरुङसँग ।

आपनो प्रेमलाई साकार बनाउने कत्रो विश्वास यिनको, म अचम्मित भए । अब गम्भीर जस्ती थिइनन् उनी, दुःखी हुन् कि बरु ? उनका ओठ चले, 'अर्काको घरमा गोठालो बसेको त्यो सोझो गुरुङ, डरायो कि माया गर्दैनथ्यो मलाई कुन्नि, त्यही बास बसेको घरमा म निदाएको बेला मलाई एक्लै छोडी सुटुक्क कतै भागेछ ।' 'बाहुनकी छोरी-बुहारी, गुरुङ गोठालोसँग हिँडेकी, त्यो बेलाको समाजमा कसले स्वीकार गर्ने मलाई ? स्वीकार गरिदिए हुन्थ्यो भन्ने आशक्ति पनि थिएन । अलि तल बजारमा झरेर एउटा थकालीको होटलमा दस वर्ष भाँडा माझें । रूप र यौवनलाई आँखा लगाउने कति-कति ? तर मन त्यही गुरुङले लिएर भागेको थियो । कसैकी हुन सकिन । एकपटक हिउँदताका सदबीज छर्न हिँडेका गाउँलेहरूको पछि लागेर म पनि यहाँ आएँ र फर्केर गइन । कहिल्यै जाने मन पनि भएन ।'

साँच्ची यिनको त्यो गुरुङ कता लाग्यो होला ? मैले निसंकोच सोधें । 'गाउँलेहरू भारत पस्यो भन्थे । त्यसपछि केही खबर भएन । न त उसको आश नै भयो कहिल्यै ।' अनि श्रीमान् नि ? मेरो कौतूहल बाँकी नै थियो । आफूले ओढेको रातो सललाई एकपटक हेरिन् र सन्तुष्ट भावमा भनिन्-'सुनेकी थिएँ कुन हो देशको राजदूत भए अरे ।' कष्टपूर्वक बोलिन् फेरि ।

'आज आएका थिए, वृद्धाश्रमका बूढाबूढीलाई लत्ताकपडा दिएर खाना ख्वाउन । कस्तो राम्रा भएछन् बुढेसकालमा झन् । साथमा श्रीमती र छोरा कस्तो सुहाएका ? उनैले दिएको सल ओढेकी आज ।' मेरो भाव पढ्न खोजेझैं गरी आँखामा हेरिन्, अब मेरा सबै प्रश्न सकिए । त्यो गुरुङको मायामा नपरेकी भए आज आफैं दाता बनेर बँाड्दै हिँडेकी हुँदी हुन् तर प्रेमले उनलाई भिखारी बनायो । 'धन्य, उनले मलाई चिनेनन् । चिनून् पनि कसरी एक जुग नै बितिसकेछ । मैले पनि त कहाँ चिन्थें हुँँली र, छ औंला भएको उनको दाहिने हात नदेखेकी भए ? अब त म उनको सम्झनामा पनि छैन होला । उनले भावविहीन हुँदै भनिन् । उनको अनुहारमा हेरें, कुनै पश्चाताप थिएन । न त अप्राप्तिको कुनै पीडा । 'राजदूतकी श्रीमती हुन पाएको भए' भन्ने मोह पनि देखिन मैले । न त उनलाई रित्याएर भाग्ने प्रेमीप्रति नै कुनै गुनासो देखें । खाली टोलाएर धमिलो बाग्मतीलाई हेरिरहिन् ।

मैले आफूलाई हेरें, ममा पीडा छ, आक्रोश छ र त्यही आफूलाई छोडिजाने निष्ठुरीलाई आपनो बनाउन नसकेको मुटु पोल्ने व्यथा पनि छ । गल्ली-गल्ली भौंतारिन्छु, मैले हाँस्नुपर्ने, बाँच्नुपर्ने कुनै कारण देख्दिन ।

केका लागि बाँच्दैछिन् यिनी ? आखिर सारहीन, उद्देश्यहीन पनि त मान्छे बाँच्दोरहेछ दुःखी नभैकनै । के यही हो शून्यता ? हो भने म कहिले पुगँुला त्यो शून्यतामा ? 

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket